- प्रहरी हिरासतमा रहँदा यामागुचीले आफूले जापान समाजवादी पार्टी सुपृमो इनजिरो आसानुमाको हत्या गरेकोमा कुनै पछुतो नभएको बरु गर्व महसुस भएको बताए ।
आज फागुन १ गते । निकट विगतको नेपाली राजनीतिमा चासो राख्नेहरुका लागि यो दिन चाहेर पनि बिर्सन नसकिने दिन। कारण भनिरहनु परोइन। यसै दिन अर्थात २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले जनयुद्धको आरम्भ भन्दै हिंसात्मक राजनीतिक अभियानको सुरुवात गरेको थियो ।
सन् १९९६ को १३ फेब्रुअरीमा सशस्त्र माओवादी "जनयुद्ध" जन्मिए झैँ २२ फेब्रुअरीमा नेपाल भन्दा झण्डै ८ हजार किलोमीटर टाढा जापानमा पनि एक योद्धाको जन्म भएको थियो । महिना उही भएपनि वर्षको हिसाबले माओवादी जनयुद्ध जन्मिनु भन्दा ५३ वर्ष अघि जन्मेका थिए ती जापानी योद्धा । माओवादी जनयुद्धलाई कुनै पनि नेपालीले चाहेर पनि बिर्सन नसके जस्तै जापानीहरु लगायत विश्व भरिका उग्र दक्षिणपंथीहरु ती जापानी योद्धालाई कुनै पनि सर्तमा स्मृतिलोप हुन दिंदैनन् ।यस आलेख माओवादी युद्धले बोकेका बहुपक्षीय बिशेषता वा कमजोरीका उपर नभइ उनै जापानी योद्धामा केन्द्रित छ।
सन् १९६० अक्टोबरको कुरा हो। जापान द्वितीय विश्व युद्धको विभिषिकाबाट बाहिरिएको धेरै भएको थिएन । अमेरिकासंगको शान्ति सम्झौता पश्चात् जापान पुनर्निर्माण र पुनर्जागरणको चरणमा प्रवेश गरिसकेको थियो । लोकतान्त्रिक शासन पद्धति अनुरुप निर्वाचित सरकारले प्रशासन चलाउने र विपक्षले जनताको हक अधिकारको सुनिश्चितताका लागि आफूलाई कृयाशिल राख्ने परम्परा सुरु भइसकेको थियो । त्यही अभ्यास स्वरूप जापानी जनता संसदीय चुनावको तयारीमा थिए । स्वाभाविक रूपमा राजनीतिक दल र तिनका नेता-कार्यकर्ताहरु आ आफ्नै ढंगले चुनावी अभियानमा आबद्ध थिए । त्यसैको उपक्रमको रूपमा अक्टोबर १२ तारीखको दिउँसो विभिन्न जापानी राजनीतिक दलका समर्थक र सर्वसाधारण सेन्ट्रल टोकियोको हिबिया पार्कमा रहेकोे हिबिया सार्बजनिक सभा हलमा जम्मा भएका थिए । प्रयोजन थियो -- एक चुनावी बहसको प्रत्यक्षदर्शी बन्ने ।
झण्डै २५ सय मानिसहरु उपस्थित रहेकोे सो हलको अघिल्लो पट्टीको मञ्चमा निर्धारित चुनावी बहसका लागि विभिन्न तीन दलका प्रमुखहरु उपस्थित भैसकेका थिए । टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको सो बहसमा क्रमशः प्रजातान्त्रिक समाजवादी पार्टीका नेता सुहिरो निसिओ,जापान समाजवादी पार्टीका प्रमुख इनजिरो आसानुमा र उदारवादी लोकतान्त्रिक पार्टीका नेता हयातो इकेदा सहभागी थिए।
सभाहलमा उपस्थित सहभागीहरु उत्सुकतासाथ चुनावी बहसको साक्षी बनिरहेका थिए । तर उनीहरूले आफूहरू एउटा ऐतिहासिक र दुर्दान्त दृश्यको पनि साक्षी बन्नुपर्ने बारेमा रत्तिभर पनि सोचेका थिएनन् । यदि त्यसको सामान्य संकेत मात्रै पनि पाएका भए उनीहरू निश्चय नैं त्यहाँ पुग्थेनन् ।
अनपेक्षित आक्रमण
चुनावी बहसको क्रममा पहिलो वक्ताले आफ्नो भनाइ राखिसक्दा दिउँसोको ३ बजिरहेको थियो । त्यस पछि दोस्रो वक्ताको रूपमा माइक सामु थिए जापान समाजवादी पार्टीका प्रमुख इनजिरो आसानुमा । उनी सन् १९६० मा भएको जापान अमेरिका सुरक्षा सम्झौताको कटु आलोचक थिए । त्यसको बिरोध स्वरूप सेन्ट्रल टोकियोको हिबिया पार्कमा उनले आह्वान गरेको बिरोध र् यालीमा बिसौं हज्जार जापानीहरुको उपस्थिति भएपछि आसानुमा निकै चर्चित बनेका थिए । उनका समर्थकहरुको संख्या उल्लेख्य रूपमा बढेको थियो ।
जापानी संसद डायटको दुई पटक सदस्य भइसकेका र प्रो चिनियाँ नेताको छवि बनाएका आसानुमा जापानका गिनेचुनेका नेतामा परिसकेका थिए । उनै इनजिरो आसानुमा माइक अघिल्तिर उभिएर आफ्नो अभिव्यक्ति राख्दै थिए । वाकपटु आसानुमा आफ्नो अभिव्यक्ति राख्नमा केन्द्रित थिए भने त्यस सभाहलमा सहभागीहरु उनलाई सुन्नमा व्यग्र थिए ।
ठीक त्यसैबेला अरुले भेउ नैं नपाउने गरी एक किशोर मञ्चको एक छेउबाट मञ्चमा चढेर बिद्युतीय तिब्रतासाथ आसानुमा तर्फ दौडिन्छ । अस्वाभाविक रूपमा आएको आवाज तर्फ आसानुमाले दृष्टि दिन्छन् । आक्रमणको उद्देश्यले नैं हातमा हतियार सहित आफूतर्फ आउँदै गरेको ती अन्जान किशोरलाई देख्छन् पनि तर सम्म्हालिन नपाउँदै त्यो युवकले उनको पेटमा जोडदार रूपमा उक्त हतियार घोचीसकेको हुन्छन । त्यो युवकले दोस्रोपटक पनि प्रहार गरिसक्दा आसानुमा भुइँमा ढल्छन् । सुरक्षाकर्मी र अन्यको ठूलो समूहले उक्त किशोरलाई नियन्त्रणमा लिन्छन् । उता सख्त घाइते भएका आसानुमाको अत्यधिक रक्तस्रावका कारण त्यतिखेरै प्राणपखेरु उडीसकेको थियो ।

(यामागुचीले आक्रमण गर्दै गर्दाको तस्विर)
आक्रमणकारीको पहिचान
प्रहरीद्वारा तत्कालै नियन्त्रणमा लिइएको उक्त युवक एक सत्र वर्षे ठिटो भएको र उग्र दक्षिणपंथी चिन्तनबाट प्रभावित रहेको रहस्य खुल्छ। ती किशोरको नाम थियो --- ओटोया यामागुची । ती किशोर एक सानदार पारिवारिक पृष्ठभूमिमा जन्मेका थिए । त्यसै अनुसारको अब्बल शिक्षा र संस्कारमा हुर्केको अनि जापानी परम्परावादी चिन्तनमा प्रतिवद्ध थिए । जापानको प्रतिष्ठित "जापान ग्राउन्ड सेल्फ डिफेन्स फोर्स" मा उच्च अधिकारी थिए उनका पिता -- सिनपेइ यामागुची । सिनपेइका दोश्रो सन्तान थिए -- ओटोया यामागुची । प्रशिध्द उपन्यासकार नामीरोकु मुराकामी उनका मावली बाजे थिए ।
जापानको राजधानी शहर टोकियोमै सन् १९४३ फेब्रुअरी २३ मा जन्मेका ओटोया यामागुची अध्ययन प्रेमी र देशभक्त ठान्थे आफूलाई । जापान राष्ट्रको गरिमालाई यसको आफ्नो मौलिकता सहित अघि बढाउनका लागि र सर्वाङ्गिण समृद्धि तर्फ लैजानका लागि कसैगरी पनि कम्युनिस्टहरुबाट जापानको रक्षा गरिनुपर्छ भन्ने दृष्टिकोण थियो ओटोया यामागुचीको।
१० मे १९५९ को दिनले उनको चिन्तन प्रणालीमा गहिरो प्रभाव दिएर गयो। केवल १६ वर्षको उमेरका यामागुचीले त्यस दिन घोर कम्युनिस्ट बिरोधी बिन आकाओको क्रान्तिकारी भाषण सुनेका थिए । आकाओको भाषणबाट यामागुची गहन रूपमा प्रभावित भए। त्यो प्रभाव यति तीब्र थियो कि उनले तुरुन्तै बिन आकाओको दक्षिणपंथी राजनीतिक दल 'बिशाल जापान देशभक्त पार्टी' को सदस्यता लिए ।
त्यसपछि उनी उक्त दलमा गहिरिएर सकृय भए । त्यसक्रममा उनले बिन आकाओको आह्वानमा आयोजित सबैजसो कम्युनिस्ट बिरोधी र्याली हरुमा सकृय सहभागिता जनाए । त्यसबापत पहिलो ६ महिनामै उनी दस पटक भन्दा बढी जेल गइसकेका थिए । पछि आकाओको क्रान्तिकारिता भुत्ते भएको र केवल बोलीले मात्रै कम्युनिस्टको बिरोध गरेको आरोप लगाउँदै उनले आकाओको पार्टी त्याग गरेका थिए । त्यसपछि उनले आफ्नो क्रान्तिकारितालाई आफ्नै ढंगले अघि बढाउने भन्दै औपचारिक रूपमा कसैसँग पनि नजोडिएरै आफ्नो मिसनमा लागेका थिए ।
आसानुमाको हत्या किन ?
प्रहरी हिरासतमा रहँदा यामागुचीले आफूले जापान समाजवादी पार्टी सुप्रिमो इनजिरो आसानुमाको हत्या गरेकोमा कुनै पछुतो नभएको बरु गर्व महसुस भएको बताए । इनजिरो आसानुमाको हत्या गर्नुको कारणमा उनले इनजिरो आसानुमाले गरेको जापानको मौलिक संस्कृति र गौरव बिरोधी गतिविधिलाई प्रमुख रूपमा उल्लेख गरेका थिए ।
उनले जापान अमेरिका सुरक्षा सम्झौताको नचाहिंदो ढंगले तिब्र बिरोध गरेको र त्यसमा अरुहरुलाई पनि उकासेको कारण जापानको बृहत् हितको रक्षाका लागि योजना पूर्वक नैं आफूले आसानुमाको हत्या गरेको दावी गरे । त्यसका लागि उनले जापानीहरुको गौरवको रूपमा रहेकोे परम्परागत जापानी हतियार वाकीजसीको प्रयोग गरेको पनि बताए ।
हत्याको आरोपमा हिरासत पुगेको २० दिन पछि अर्थात २ नोभेम्बर १९६० का दिन यामागुचीले हिरासतमै आत्महत्या गरे।
दक्षिणपंथीहरुका आदर्श
ओटोया यामागुचीले मूलतः जापानी मौलिकता विरुद्ध उदाउँदै गरेको घोर कम्युनिष्ट नेताको हत्या गरेकोले उनलाई आदर्श मान्नेहरुको ठूलो समूह छ । त्यो समूह कुनै न कुनै रूपमा विश्वभरि फैलिएको दावी छ यामागुची समर्थकहरुको । उनको मृत्यु भएको दिन २ नोभेम्बर र उनले आशामुनाको हत्या गरेको दिन १२ अक्टोबरलाई उनका अनुयायीहरु विशेष दिवसको रूपमा सम्मान गर्छन् । ती दुबै दिन उनीहरू यामागुचीको संस्मरणमा विशेष कार्यक्रमको आयोजना गर्ने गर्छन् । उनीहरू उनलाई एक "हिरो" को रूपमा आदर्श मान्छन् र "प्रात:स्मरणीय जापानी देशभक्त" मान्छ्न् ।
त्यसयता दक्षिण पंथी जापानीहरुद्वारा थुप्रै हिंसात्मक घटना भइसकेका छन् । ती मध्ये फेब्रुअरी १ , २०६१ मा भएको कुख्यात 'सिमानाका घटना' यामागुचीलाई नैं आदर्श मान्ने एक दक्षिणपंथी किशोरद्वारा गरिएको घटना थियो । सिमानाका घटनामा आधारित मुभीहरु समेत लोकप्रिय भए। यामागुचीद्वारा आशानुमालाई गरिएको "वाकीजसी" प्रहारको फोटो खिच्ने जापानी फोटो पत्रकार यासुसी नागाओले सन् १९६० को " वर्ल्ड प्रेस फोटो अफ द इयर" पुरस्कार पाए । सोही फोटोका लागि सन् १९६१ मा उनले बिश्व प्रशिद्ध पुलिट्जर पुरस्कार प्राप्त गरेका थिए ।
यामागुची प्रवृत्ति र नेपालको जनयुद्ध को नेपाली राजनीतिमा सान्दर्भिकता
नेपाल औंलामा गन्न सकिने विश्वकै सबैभन्दा पुराना सभ्यतायुक्त राष्ट्रहरु मध्ये एक हो। यसका आफ्नै किसिमका बिशिष्टताहरु रहेका छन् । नेपालको उत्तरी छिमेकी राष्ट्र घोर कम्युनिस्ट मुलुक भएतापनी बिगतमा यसले आफूलाई कम्युनिस्टको राजनीतिक कोपबाट पृथक राख्न सफल भएको हो ।
शाहवंशीय राजा महेन्द्र आफैंले "म स्वयं कम्युनिस्ट हुँ भनेको" भनी दावी गरिएको पृष्ठभूमिमा अरु नामधारी कम्युनिस्टको डर हुने कुरै भएन । त्यसमाथि २०५२ साल फागुन १ गतेदेखि सर्वसाधारण नेपाली जनताको छोराछोरी निहत्था प्रहरी/सैनिक र स्थानीय अबोध राजनीतिक कार्यकर्ता मारेर जनयुद्धको थालनी मार्फत मुलुकका १८ हजार ७६ नागरिकको हत्या ,१७ सय ३० जनालाई बेपत्ता र १६ हजार ६ सय ४६ जनालाई घाइते वा अंगभंग बनाएर पनि अन्ततः पुरानो सत्तासंग सम्झौता गरेको नेकपा माओवादीले जनयुद्धको महिमा मणडन गर्नुको कुनै तुक देखिंदैन । आक्रोशित कार्यकर्ताको मन थुमथुम्याउन र कुनै अनपेक्षित बिद्रोह नभइदेओस भनेर रचिएको कुत्सित प्रपञ्च बाहेक केही होइन ।
झन् गत वर्ष अर्थात २०८० पौष ५ गते नेपालको सर्वोच्च अदालतले तत्कालीन प्रचण्ड सरकारले घोषणा गरिसकेको फागुन १ गतेलाई "जनयुद्ध दिवसको रूपमा सरकारी कार्यालयमा छुट्टी नदिनु भनेर रोक लगाइसकेपछि नेकपा माओवादी केन्द्रले फेरि पनि फागुन १ लाई "जनयुद्ध दिवस" भन्दै यसलाई मनाउने भनी गरिएको निर्णय प्रचण्डकै शब्दमा भन्ने हो भने "केवल कलाबिहिन नाटक मात्र हो" ।
नेपालीहरु मूलतः समावेशी र सहिष्णु चरित्रका छन् । यहाँ सह धर्मिता र सहचार्यताको प्रचुरता भएकाले अतिवादको निम्ति यो उर्बर भूमी मानिंदैन। त्यसैले यामागुचीको अवतार यहाँ आउने छन् नैं भन्न सकिन्न । तथापि पछिल्ला दिनहरूमा मुलधारका भनिएका राजनीतिक दल र तिनका केन्द्रिय एवम् स्थानीय नेताकार्यकर्ताहरु विरुद्धमा जनसाधारणले फरक फरक रूपमा आक्रोश देखाउँदै आएका छन् ।
२०६२/ ६३ मा तत्कालीन सात दल र माओवादी बीच भएको बार्ह्रबुँदे सम्झौतालाई बिश्वास गरेर नेपाली जनताले सात दल र माओवादीको आह्वान अनुरुप राजालाई घुँडा टेकाउने आन्दोलनलाई साथ दिएका थिए । तर आन्दोलनको म्यान्डेट र बार्ह्रबुँदे समझदारी बिपरित सात दल र माओवादीले त्यस अघि कतै उल्लेख नभएको बिषयमा निर्णयहरु गरेर नेपालको शाश्वत पहिचान मेटाउने काम गरे ।
भ्रष्टाचार ,बेथिति र चरम लापरबाहीका कारण जनताहरु रवि लामिछाने, दुर्गा प्रसाईं जस्ता धुमिल पृष्ठभूमीका चटकेहरु तर्फ जवरजस्त रूपमा आकर्षित हुँदैछन्। सरुवा ,बढुवा ,नियुक्ति आदिको प्रलोभनबाट पर रहेका अनि हातमा दुई चार सय रुपैयाँ खाली नहुने एवम् काठमाडौंसंग कुनै "कनेक्सन" र "एक्स्पेक्टेसन" नरहेका सुदुर पूर्व र सुदूर पस्चिमका सवारी चालकहरु समेत बालेन साहको फोटो राखेर "बालेन सिटी" लेखिएको सवारी साधनहरु आनन्दले कुदाउँदैछन्। त्यो केवल क्षणिक आवेगको प्रतिक होइन मौजुदा सबैखाले राजनीतिक नेतृत्वलाई जोडदार झापड हो।
यस्ता अनेकौं अनौपचारिक र प्रतीकात्मक सूचकहरु बग्रेल्ती छन् बजारमा जसले मुल प्रवाहका राजनीतिक दल र तिनका नेतालाई "वेक अप वार्निङ" दिइरहेका छन् । तर दलाधिपति, अनि तीनका सबै खाले अनुचरहरु मुलुकलाई साँच्चिकै समावेसी र सही बाटोमा अघि बढाउन तत्पर देखिएका कुनै संकेत आएका छैनन् ।
माथि उल्लेख गरिएझैं अनेकन अप्रीतकर पृष्ठभूमिले "जनयुद्ध" वा "यामागुची" को अर्को संस्करण नजन्माउन् ! हज्जारौं सोझा अनि निर्धा नेपालीको ज्यान नजाओस् ,कोही बेपत्ता नबनुन्, अन्य कोही घाइते र अंगभंगको जीवन वाँच्न अभिषप्त नहोउन्। आजको बिर्सनयोग्य कालो दिनमा यति नैं शुभेच्छा ।
जय होस् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।